भारतको केरलास्थित वायनाड जिल्लाको मेप्पडी नजिक रहेको कल्लाडी क्षेत्रमा मंगलबार बिहान गएको पहिरोमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
पहिरोका कारण मलप्पुरम–वायनाड सुरुङ परियोजनाको निर्माणस्थलमा ठूलो परिमाणमा माटो र ढुंगा खस्दा केही कामदार पुरिएका थिए। हालसम्म चार जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन् भने १० जनाको जीवित उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
जिल्ला प्रशासनका अनुसार घाइतेहरूको उपचार विम्स अस्पतालमा भइरहेको छ। निरन्तरको वर्षा र बाक्लो हिलोका कारण उद्धार टोलीलाई घटनास्थलमा काम गर्न चुनौती भइरहेको छ। जोखिम बढेपछि सुरुङ निर्माणको काम सोमबारदेखि नै स्थगित गरिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी, एनडीआरएफ र स्थानीय उद्धार टोलीले जेसीबीसहितका उपकरण प्रयोग गरेर पहिरो हटाउने तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएका छन्।
कांग्रेस नेतृ प्रियंका गान्धीले युडीएफका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय सहयोग गर्न आग्रह गरेकी छन्। उनले प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्दै प्रभावितलाई आवश्यक सहयोग पुर्याउन अपिल गरेकी हुन्।
यसैबीच, मौसम विभागले वायनाड र कोझिकोड जिल्लाका लागि अत्यधिक वर्षाको सम्भावना औंल्याउँदै ‘रेड अलर्ट’ जारी गरेको छ। जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने चुलिक्का सरकारी विद्यालयमा अस्थायी राहत शिविर सञ्चालन गरिएको छ।
उल्लेखनीय रूपमा, वायनाडमा दुई वर्षअघि पनि विनाशकारी पहिरो गएको थियो। त्यस घटनामा ४०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
Khabar24Online