नेपाल आजको समय | विराटनगर
ताजा समाचार :
बढ्दो लागूऔषध दुर्व्यसन: युवापुस्तामाथि गहिरिँदो संकट, रोकथाम र पुनःस्थापनामा जोड तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ? पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च

  • प्रकाशित मिति: Jul 7, 2026
तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च फोटो क्याप्सन: तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च
ad728

नेपालमा पछिल्लो तीन वर्षको अवधिमा डेंगी संक्रमणको संख्या क्रमशः घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जनामा डेंगी पुष्टि भएको थियो भने सन् २०२४ मा यो संख्या घटेर ४१ हजार ८६५ पुगेको थियो। सन् २०२५ मा भने संक्रमितको संख्या ८ हजार ९२५ मा सीमित भएको छ। तथ्यांकअनुसार सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा डेंगी संक्रमण करिब पाँच गुणाले कम भएको देखिन्छ।

महाशाखाले मंगलबार आयोजना गरेको प्रकोपजन्य रोगसम्बन्धी छलफल कार्यक्रममा सार्वजनिक गरेको विवरणअनुसार संक्रमण घट्दै गए पनि मनसुन सुरु भएसँगै डेंगीको जोखिम भने कायम रहेको जनाएको छ।

इपिडिमियोलोजी तथा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायको सक्रिय सहभागितामा सञ्चालन भएका लामखुट्टेको बासस्थान खोज्ने तथा नष्ट गर्ने अभियान, सरसफाइ र जनचेतनामूलक कार्यक्रमका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको बताए।

उनले भने, “कोभिडपछिका वर्षहरूमा डेंगी संक्रमण उच्च देखिएको थियो। अहिले जनचेतना विस्तार, नियमित सरसफाइ र संक्रमणबाट बच्ने उपायको प्रभावकारी कार्यान्वयनका कारण संक्रमण घटेको हो। तर डेंगीको जोखिम अझै पूर्ण रूपमा समाप्त भएको छैन।”

डा. दाहालका अनुसार नेपालमा डेंगी संक्रमण कुनै निश्चित समय मात्र नभई वर्षभरि देखिन सक्छ। तर वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले मनसुन अवधिमा संक्रमण फैलिने सम्भावना बढी हुन्छ। त्यसैले घरपरिवार, समुदाय र स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तर अघि बढाउनुपर्ने उनले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा डेंगी नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। यसअन्तर्गत जनचेतनामूलक अभियान, स्वास्थ्यकर्मीका लागि केस व्यवस्थापनसम्बन्धी तालिम, विभिन्न निकायबीच समन्वय, लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान, क्लब, विद्यालय र युवा समूहको परिचालनलगायतका गतिविधि सञ्चालन गरिएको छ।

असारदेखि भदौसम्म संक्रामक रोगको जोखिम बढी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असारदेखि भदौसम्मको समय प्रकोपजन्य संक्रामक रोग फैलिने सम्भावना बढी हुने अवधि भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार सञ्चारकर्मीसँग गरिएको अन्तरक्रियामा महाशाखाले वर्षायाममा डेंगीसँगै स्क्रब टाइफस, हैजा, जापानिज इन्सेफ्लाइटिस तथा सर्पदंशका घटनामा वृद्धि हुन सक्ने जानकारी दिएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेले नेपालमा मनसुनको समयमा सर्पदंशबाट हुने मृत्युका घटना उल्लेख्य रहेको बताए।

उनले भने, “नेपालमा प्रत्येक वर्ष करिब ३ हजार मानिसको सर्पदंशका कारण मृत्यु हुने अनुमान गरिएको छ। पछिल्लो समय पनि मधेश प्रदेशमा सर्पदंशबाट हुने मृत्युका घटना बढी देखिएका छन्।”



समाचार अपडेट गर्नुभयो: Khabar24Online

प्रतिकृया दिनुहोस: