फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति हुने ‘इबेरियन डर्बी’मा युरोपका दुई शक्तिशाली टोली पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्।
अमेरिकाको डलास स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने यो बहुप्रतीक्षित भिडन्त क्वार्टरफाइनल यात्राका लागि निर्णायक हुनेछ। यससँगै यो खेल दुई फरक पुस्ताका स्टार खेलाडीबीचको रोचक प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।
एकातर्फ अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डो सम्भावित अन्तिम विश्वकपमा टोलीलाई उपाधिनजिक पुर्याउने लक्ष्यमा छन् भने अर्कोतर्फ युवा सनसनी लामिन यमाल आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्व फुटबलमा थप छाप छोड्ने तयारीमा छन्।
लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन प्रतियोगिताभर सन्तुलित र प्रभावशाली देखिएको छ। समूह ‘एच’को विजेता बनेको स्पेनले नकआउट चरणमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै आफ्नो दाबेदारी अझ बलियो बनाएको थियो।
स्पेनका गोलरक्षक उनाई सिमोनले जारी प्रतियोगितामा हालसम्म कुनै गोल खान दिएका छैनन्। लगातार ५१९ मिनेट क्लिनसिट राख्दै उनले विश्वकपको ३६ वर्ष पुरानो कीर्तिमानसमेत आफ्नो नाममा लेखाइसकेका छन्।
स्पेन पछिल्ला ३४ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहँदै आफ्नै ३५ खेलको ऐतिहासिक अपराजित यात्राको कीर्तिमान बराबरी गर्ने संघारमा पुगेको छ।
यता, समूह ‘जे’को उपविजेता बनेर नकआउट पुगेको पोर्चुगलले राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्ध पुनरागमन गर्दै २–१ को जित निकालेको थियो। रोनाल्डोको पेनाल्टी गोल र गोन्सालो रामोसको निर्णायक हेडरले टोलीलाई अन्तिम १६ मा पुर्याएको थियो।
रोनाल्डोले सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका बेला लामिन यमालको जन्मसमेत भएको थिएन। अहिले भने उनीहरू पहिलो पटक विश्वकपको सबैभन्दा ठूलो मञ्चमा एकअर्काविरुद्ध उत्रँदै छन्।
रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुन सक्ने चर्चा चलिरहेका बेला उनी अन्तर्राष्ट्रिय करियरलाई विश्वकप उपाधिसहित सम्झनलायक बनाउने लक्ष्यमा छन्। यद्यपि पछिल्ला खेलहरूमा उनको प्रभाव मुख्यतः पेनाल्टी क्षेत्रभित्र सीमित देखिएको विश्लेषण गरिएको छ।
चोटमुक्त भएर उत्कृष्ट लयमा फर्किएका यमाल भने स्पेनको सबैभन्दा ठूलो आक्रमणात्मक अस्त्र बनेका छन्। अस्ट्रियाविरुद्ध ‘म्यान अफ द म्याच’ बनेका उनले आत्मविश्वासका साथ भनेका छन्, "हामी कसैसँग डराउँदैनौं। हामी स्पेन हौं, हाम्रो विश्वकप अब साँच्चै सुरु भएको छ।"
रोनाल्डो र यमालमाथि सबैको नजर रहे पनि स्पेनका फरवार्ड मिकेल ओयार्जाबाल निर्णायक पात्र बन्न सक्ने आँकलन गरिएको छ।
टिमका लागि निस्वार्थ रूपमा खेल्ने शैलीका कारण स्पेनिस सञ्चारमाध्यमले उनलाई ‘एन्टी रोनाल्डो’को संज्ञा दिएका छन्। उनले जारी विश्वकपमा चार गोल गरिसकेका छन् भने पछिल्ला १६ सुरुआती खेलमा १७ गोलको प्रभावशाली उपलब्धि हासिल गरेका छन्।
अस्ट्रियाविरुद्धको खेलमा उनले विपक्षी रक्षकलाई झुक्याउँदै दुई उत्कृष्ट गोल गरेका थिए।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले बलमाथि नियन्त्रण कायम राख्दै संयमित रणनीतिमा खेल्ने संकेत दिएका छन्। यता स्पेनका प्रशिक्षक डे ला फुएन्टेले उच्च दबाबसहित तीव्र गतिको खेल प्रस्तुत गर्ने तयारी गरेका छन्।
दुवै टोलीको खेलशैली बल पोसेसनमा आधारित भएकाले खेलको नतिजा धेरै हदसम्म मिडफिल्डको प्रदर्शनमा निर्भर रहने अपेक्षा गरिएको छ। स्पेनका रोड्री र पेड्रीविरुद्ध पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेसको भिडन्त निकै रोचक हुने अनुमान छ।
सन् १९२१ यता यी दुई टोलीबीच ४१ खेल भएका छन्। तीमध्ये स्पेनले १८ खेल जितेको छ भने पोर्चुगलले सात खेलमा मात्र सफलता हात पारेको छ। बाँकी १६ खेल बराबरीमा सकिएका छन्।
विश्वकपमा यी दुई टोलीको पछिल्लो भेट सन् २०१८ मा भएको थियो, जहाँ रोमाञ्चक खेल ३–३ को बराबरीमा टुंगिएको थियो। त्यस खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए।
ओप्टा सुपरकम्प्युटरले स्पेनको जित्ने सम्भावना ४९.२ प्रतिशत र पोर्चुगलको २५.६ प्रतिशत आँकेको छ भने खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको जनाएको छ।
यस खेलको विजेताले क्वार्टरफाइनलमा अमेरिका वा बेल्जियममध्ये एकसँग शुक्रबार लस एन्जलसमा प्रतिस्पर्धा गर्नेछ।
মোঃ নজরুল ইসলাম