काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। उनले त्रिवि उपकुलपति कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहणपछि बोल्दै उपकुलपति थापाले सरकारको विश्वासलाई कायम राख्दै सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘सरकारले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी दिएको छ, त्यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक छ। तपाईंहरू अहिले पनि राम्रो काम गरिरहनुभएको छ, त्यसलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्नेछौं।’
उनले आफ्नो उच्च शिक्षाको यात्रा पनि त्रिभुवन विश्वविद्यालयबाटै सुरु भएको स्मरण गर्दै संस्थाको विकास र गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताए। थापाले भने, ‘मलाई बाहिरबाट आएको व्यक्ति भनेर नहेर्नुहोस्। मेरो शैक्षिक यात्रा यही विश्वविद्यालयबाट सुरु भएको हो। सेवाका क्रममा म Kathmandu University मा आबद्ध भएँ। देशको उच्च शिक्षाको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी त्रिभुवन विश्वविद्यालयको काँधमा छ, र त्यो जिम्मेवारी पूरा गर्न म तपाईंहरूसँगै काम गर्न आएको हुँ। हाम्रो प्रतिस्पर्धा नेपालभित्रका विश्वविद्यालयसँग मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसँग हुनुपर्छ।’
प्रा. डा. थापाले यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपतिका रूपमा पनि नेतृत्व सम्हालिसकेका छन्, जसका कारण विश्वविद्यालय प्रशासन सञ्चालनको अनुभव उनीसँग रहेको छ।
Khabar24Online