नेपाल आजको समय | विराटनगर
ताजा समाचार :
बढ्दो लागूऔषध दुर्व्यसन: युवापुस्तामाथि गहिरिँदो संकट, रोकथाम र पुनःस्थापनामा जोड तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ? पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल

  • प्रकाशित मिति: Jul 7, 2026
‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल फोटो क्याप्सन: ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल
ad728

टेलिकम सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलले आफ्नो ‘थ्रीजी’ सेवा क्रमिक रूपमा बन्द गर्ने तयारीलाई अघि बढाएका छन्।

दुवै कम्पनीले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवाको पहुँच विस्तार गर्ने र आगामी फाइभजी सेवाका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले थ्रीजी सेवा हटाउने योजना अघि सारेका हुन्।

विश्वभरका दूरसञ्चार कम्पनीहरूले पनि पुराना मोबाइल प्रविधिबाट आधुनिक तथा उच्च क्षमतायुक्त नेटवर्कतर्फ रूपान्तरणलाई तीव्र बनाइरहेका छन्। थ्रीजी सेवा हटेपछि ग्राहकका लागि टुजी र फोरजी सेवा उपलब्ध हुनेछ भने भविष्यमा फाइभजी सञ्चालनको आधारसमेत तयार गरिनेछ।

दूरसञ्चार क्षेत्रका विज्ञहरूका अनुसार हालको प्रयोग र आवश्यकतालाई हेर्दा थ्रीजी प्रविधि पहिलेजस्तो प्रभावकारी छैन। फोरजीको तुलनामा थ्रीजीमा ब्यान्डविथ कम हुने, डेटा गति सुस्त रहने र भ्वाइस सेवाको गुणस्तर पनि सीमित हुने भएकाले सेवा प्रदायकहरू फोरजी नेटवर्क विस्तारमा केन्द्रित भएका छन्।

थ्रीजी सेवा बन्द भएपछि खाली हुने स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता वृद्धि, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) सेवाको गुणस्तर सुधार तथा भविष्यको फाइभजी सेवाका लागि प्रयोग गरिने कम्पनीहरूको भनाइ छ। यसबाट ग्राहकले अझ तीव्र इन्टरनेट, स्पष्ट भ्वाइस सेवा र स्थिर नेटवर्क अनुभव गर्न सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार विश्वका अधिकांश देशमा टेलिकम कम्पनीहरूले थ्रीजी सेवा क्रमशः हटाउँदै लगेका छन्। उनले नेपाल टेलिकमले पनि आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्यसहित तयारी गरिरहेको जानकारी दिए।

उनका अनुसार कम्पनीका तीन हजारभन्दा बढी थ्रीजी बिटिएस टावरमध्ये केही हटाउने काम सुरु भइसकेको छ। चितवनमा क्लस्टर बनाएर परीक्षण भइरहेको र त्यसको परिणामका आधारमा देशभर सेवा बन्द गर्ने प्रक्रिया अघि बढाइने उनले बताए।

लामिछानेका अनुसार थ्रीजी सेवा हटेपछि ग्राहकले डेटा र भ्वाइस दुवैका लागि फोरजी तथा भोल्टे सेवा प्रयोग गर्न सक्नेछन् भने केवल भ्वाइसका लागि टुजी सेवा पनि पर्याप्त हुनेछ।

हाल नेपाल टेलिकमले २१०० मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रीजी सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले ७६० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ भने बाँकी क्षेत्रमा पनि विस्तारसँगै सेवाको गुणस्तर सुधार गर्ने योजना रहेको जनाएको छ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको जनाएको छ। यसअघि पनि कोशी प्रदेशका केही क्षेत्रमा यो सेवा हटाइसकिएको थियो।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र ग्राहकलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने रणनीतिअनुसार कम्पनीले थ्रीजी सेवा बन्द गर्ने निर्णय गरेको हो।

उनका अनुसार एनसेलका करिब १ करोड ४१ लाख सक्रिय ग्राहकमध्ये केवल ०.७ प्रतिशतले मात्र थ्रीजी सेवा प्रयोग गरिरहेका छन्। कम्पनीले सन् २०२७ को पहिलो त्रैमासिकभित्र देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ।

थ्रीजी सेवा बन्द भए पनि ग्राहकले टुजी र फोरजीमार्फत भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन्। यसअघि थ्रीजीमार्फत उपलब्ध हुँदै आएको भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टे प्रविधिबाट सञ्चालन हुनेछ।

कम्पनीका अनुसार थ्रीजीबाट खाली हुने स्पेक्ट्रम फोरजी सेवाको क्षमता विस्तारमा प्रयोग गरिनेछ। हाल फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको र भविष्यमा फाइभजीका लागि पनि आवश्यक तयारी भइरहेको जनाएको छ।

एनसेलले अझै थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजीमा स्तरोन्नति गर्न तथा फोरजी समर्थित मोबाइलमा भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ। यसका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क आवश्यक पर्ने कम्पनीले जनाएको छ।

यता नेपाल टेलिकमले पनि नेटवर्क आधुनिकीकरण कार्यक्रमअन्तर्गत थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने योजना अघि बढाएको छ। कम्पनीले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिममा परिवर्तन गर्न अनुरोध गरेको छ। सिम परिवर्तनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रसहित नजिकको टेलिकम कार्यालयमा जान सकिने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमका अनुसार थ्रीजी सेवा बन्द भएपछि त्यसमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी र नेटवर्क स्रोत फोरजीको क्षमता विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि उपयोग गरिनेछ। यसले नेटवर्कको कार्यक्षमता बढाउनुका साथै ग्राहकलाई अझ गुणस्तरीय मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

दूरसञ्चार क्षेत्रका विज्ञहरूका अनुसार थ्रीजी सेवा हटाउने निर्णयले सीमित स्पेक्ट्रमको प्रभावकारी उपयोग, सञ्चालन खर्चमा कमी तथा उच्च गुणस्तरको मोबाइल सेवा विस्तारमा सहयोग पुर्‍याउनेछ। साथै यसले भविष्यमा फाइभजी सेवा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माणलाई समेत सहज बनाउने विश्वास गरिएको छ।


समाचार अपडेट गर्नुभयो: Khabar24Online

प्रतिकृया दिनुहोस: