डढेलोले अहिलेसम्म ५ को मृत्यु

0
  • मङ्गलबार २१ बैशाख, २०७३
  •  

पोखरा–वनजंगलमा लागेको डढेलोले अहिलेसम्म पश्चिमाञ्चलका विभिन्न जिल्लामा पाँचजनाको ज्यान गएको छ । तीमध्ये गुल्मीमा चार जना र अर्घाखाँचीमा एक जनाको ज्यान गएको वन कार्यालयले जानकारी दिएका छन्। जिल्ला वन कार्यालय गुल्मीका अनुसार डढेलोमा परेर मलागिरीका कमल खड्का, इश्मादोहोलीका लोकबहादुर गुरुङ र तुलमीलामा गुरुङ र बडागाउँका मेहरसिंह राजकोटीको ज्यान गएको छ।

वन कार्यालय गुल्मीका अधिकृत विशाल घिमिरेका अनुसार गत चैत २९ मा डढेलोमा परी जलेर घाइते भएका कमलको केही दिनअघि ज्यान गएको हो । वैशाख १७ गते इश्मादोहोलीका दुई जनाको वनबाट फैलिँदै घरसम्म आइपुगेको डढेलो निभाउन खोज्दा जलेर ज्यान गएको थियो । त्यस्तै, राजकोटीको केही दिनअघि मात्र ढडेलोमा परेर ज्यान गएको थियो ।

त्यस्तै, अर्घाखाँचीको धातिवाङकी मखमली विकको वैशाख १३ गते डढेलोमा परेर ज्यान गएको जिल्ला वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मदन ढुंगानाले जानकारी दिए । गुल्मीका वन अधिकृत घिमिरेका अनुसार अहिलेसम्म त्यहाँ ४ हजार ६ सय ५१ हेक्टर वन क्षेत्रफल डढेलोले नोक्सान भएको छ । त्यस्तै, अर्घाखाँचीमा १२ हजार ७ सय ६४ हेक्टर क्षेत्रफल नोक्सान भएको छ ।

रुपन्देहीमा १७ हजार, गोरखामा १० हजार, पाल्पामा ४ हजार हेक्टर क्षेत्रफल वनमा डढेलोले नोक्सान पुर्याएको छ । त्यस्तै, कास्की, तनहुँ, म्याग्दी, पर्वतमा पनि हजारौं हेक्टर वनमा डढेलो लागेको पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ । क्षेत्रीय वन निर्देशनालयका उपनिर्देशक राजेन्द्रमानसिंह भण्डारीले अधिकांश जिल्लाका वनमा डढेलो लागेको जानकारी दिए । कति क्षेत्रफल वन नोक्सान भइसक्यो भन्नेबारे अहिलेसम्म विस्तृत विवरण आइनसकेको उनले बताए ।

‘वैशाख लागेपछि डढेलो लाग्न सुरु भएको हो । डढेलोमा परेर अहिलेसम्म पाँचजनाको ज्यान गएको थाहा भएको छ । हजारौं हेक्टर वन क्षेत्रफल नोक्सान भएको छ,’ उनले भने, ‘वर्षा नभएसम्म डढेलो रोकिने सम्भावना नै छैन । हरेक दिन डढेलो लागेको क्षेत्रफल बढिरहेको छ ।’

डढेलोपछि खसेको ढुंगाले लागेर सख्त

जंगलमा लागेको डढेलो निभाएर फर्कने क्रममा माथि भीरबाट खसेको ढुंगा लागेर पर्वतको आर्थर–६ का रविन गुरुङ, १९, सख्त घाइते भएका छन् । बाटोमा हिडिरहँदा पञ्चासेको भीरबाट खसेको ढुंगाले लागेर शनिबार दिउँसो गुरुङ घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका गुरुङको आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा शल्यक्रिया भएको छ ।

पञ्चासेको जंगलमा लागेको डढेलो निभाएर उनी घर फर्कंदै गर्दा माथिबाट खसेको ढुंगाले लागेर गुरुङ घाइते भएको उनका मामा दिलबहादुर जिसीले बताए । ‘पञ्चासेको जंगलमा लागेको डढेलो निभाएर फर्किंदै गर्दा माथिबाट खसेको ढुंगाले लागेर रविन घाइते भएका हुन्,’ उनले भने, ‘टाउकोमा निकै ठूलो चोट लागेको छ । मणिपालमा जटिल शल्यक्रिया गरिएको छ ।’ पञ्चासे संरक्षित वन मूल परिषदका अध्यक्ष गोपाल गुरुङले डढेलोले गर्दा वनसँगै बहुमूल्य जडिबुटी, बोटबिरुवा, चराचुरुंगी नोक्सान भएको बताए । फेवातालको जलाधार क्षेत्रमा पर्ने पञ्चालेमा बहुमूल्य जडिबुटीसहित सुनाखरी नोक्सान भएको उनले बताए ।