मधेसलाई होच्याए मुलुक टुक्रनसक्छः पूर्वराष्ट्रपति यादव

0

काठमाडौं, वैशाख ९ 

पूर्वरष्ट्रपति डा. रामवरण यादवले राष्ट्रियताको नाममा मधेशलाई होच्याएर व्यवहार गर्न नछोडे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्।
पूर्वराष्ट्रपति डा. यादवले नेपालले पूर्व र पश्चिम दुवैतिर आफ्ना भूभाग गुमाएको इतिहास रहेको भन्दै मधेश समस्याको समाधान गर्न गम्भीरता नदेखाए मुलुक फेरि पनि टुक्रिन सक्ने चेतावनी दिएका हुन्।
पत्रकार जगत नेपालले लेखेको पुस्तक लोकार्पणका लागि बिहिवार अपरान्ह संसद् भवनको ल्होत्से हल पुगेका पूर्वराष्ट्रपति डा. यादवले संविधानमा सबै कुरा समावेश भएपनि मधेशवादी दल असन्तुष्ट रहेको अवस्थामा कार्यान्वयन निकै चुनौतिपूर्ण रहेको बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै राष्ट्रियताको अतिवादी नारा लगाएर हिमाल, पहाड र तराई जोडिन नसक्ने भन्दै मधेशीलाई होच्याएर तथा तीतो बोलेर व्यवहार नगर्न आग्रह गरे। उनले अन्धराष्ट्रवाद्ले मुलुक जोडिन नसक्नेतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए।
पूर्वराष्ट्रपति डा. यादवले प्रधानमन्त्री ओलीमाथि संविधानको कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप समेत लगाए। उनले संविधानको कार्यान्वयन गर्नु पहाड पन्छाउनुसरह रहेको तर समय घर्किंदै गएपनि आफूले काम भने केही पनि भएको देख्न नपाएको बताए। उनले संविधान जारी गर्दा आफूलाई पूरै बेवास्ता गरिएको गुनासो समेत गरे।
उनले संक्रमणकालका बेला राष्ट्राध्यक्ष, सभाध्यक्ष, प्रधानमन्त्री तथा संविधान मस्यौदा र संवैधानिक समितिका संयोजकले एक ठाउँमा बसेर छलफल गरी सहमति गर्न आवश्यक भएपनि आफूलाई पूरै उपेक्षा गरिएको र त्यसकै परिणाम ९० प्रतिशत मतका साथ जारी भएको संविधानको कार्यान्वयनमा जटिलता खडा भएको बताउ।
कार्यक्रममा विघटित संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने संसारका कुनैपनि मुलुकमा सबैको सहमतिमा संविधान जारी भएको उदाहरण नरहेको भन्दै दुई तिहाइभन्दा बढी जनप्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुनुको विकल्प नरहेको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here