गरिबी निवारण कोषका दुई कर्मचारी निलम्बित

0
मङ्गलबार १४ बैशाख, २०७३
काठमाडौं— गैह्रकानूनी रुपमा रकम निकासा गर्न खोजेको भन्दै गरिवी निवारण कोषले दुई कर्मचारीलाई निलम्वन गरेको छ।
कालिकोटमा विद्यालय निर्माणसम्बन्धी परियोजनाको रकम निकासाका लागि नक्कली हस्ताक्षर सहितका कागजात तयार गरेको जानकारी पाएपछि कोषले सोमबार कोषका कार्यक्रम महाशाखा प्रमुख मोतिप्रसाद शर्मा र कालिकोटका कार्यप्रवन्धक रविन्द्रकुमार शाहीलाई निलम्वन गरेको हो।

स्रोतका अनुसार कालिकोटको विद्यालय निर्माण परियोजनाका लागि शर्मा र शाहीले नक्कली कागजात तयार पारेको जानकारी पाएपछि कोषका उपाध्यक्षको स्वीकृतीमा कार्यकारी निर्देशकले निलम्वन गरेका हुन्। कोषमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले तीन दर्जनभन्दा बढी कर्मचारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको दुई साता नबित्दै नक्कली कागजात तयार पारेको आरोपमा सोमबार दुई कर्मचारी निलम्वनमा परेका हुन्।
यस विषयमा बुझ्न खोज्दा कोषका उपाध्यक्ष युवराज पाण्डेले आरोपित कर्मचारीलाई निलम्वन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘प्रक्रिया मिचेर गलत तरिकाले रकम निकासा गर्न लागेको जानकारी पाएपछि निलम्वन गरेका हौं,’ पाण्डेले नागरिकन्युजसँग भने ‘यस विषयमा अनुसन्धान गर्न वित्त तथा प्रशासन महाशाखा प्रमुख सिताराम चौधरीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here