एक वर्षमा २२ लाख इन्टरनेट प्रयोगकर्ता थपिए

0
काठमाडौं |
गएको एक वर्षमा नेपालमा २२ लाख इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । खासगरी सेवाप्रदायकबीच सेवा विस्तार र बिक्रीमा बढेको प्रतिस्पर्धाले इन्टरनेटको पहुँच र प्रयोग बढेको सरोकारवाला बताउँछन् ।
हाल नेपालको कुल जनसंख्याको ४६ दशमलव ४ प्रतिशत जनतामा इन्टरनेट सेवाको पहुँच पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ८ दशमलव ३१ प्रतिशतले बढी हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म इन्टरनेट चलाउने नेपालीको संख्या १ करोड २१ लाख ९९ हजार पुगेको छ । जबकि, अघिल्लो वर्ष यो संख्या १ करोड ९३ हजार मात्रै थियो ।
मुलुकमा पछिल्ला प्रविधिका ब्रोडब्यान्ड इन्टरनेटसमेत भित्रिँदै गएका छन् । अहिले वाइम्याक्स तथा एफटिटिएच (फाइबर टु दी होम)लगायत ब्रोडब्यान्ड सेवा विस्तार तथा प्रयोग बढ्दै गएको छ । थ्रिजी सेवा ७० भन्दा बढी जिल्लामा पुगिसकेको छ । त्यस्तै, नेपाल टेलिकम र एनसेलले ‘फोरजी’ प्रविधिमा आधारित सेवासमेत सञ्चालनको तयारी गरेका छन् । ‘सेवाप्रदायकले बिक्री र विस्तारमा प्रतिस्पर्धा बढाउनु र विश्वबजारका पछिल्ला प्रविधि नेपालमा भित्रनुले इन्टरनेट सेवाको पहुँच र प्रयोग बढेको हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।
मोबाइलमा इन्टरनेट चलाउने प्रयोगकर्ता बढ्दै गएपछि टेलफोन सेवाप्रदायकले ‘थ्रिजी’ विस्तारलाई प्राथमिकतामा राखेका छन् । आवाज (भ्वाइस)सँगै फोटो तथा भिडियोसमेत ट्रान्सफर गर्न सकिने थ्रिजी सेवा अहिले मुलुकका सबैजसो जिल्ला सदरमुकाममा पुगिसकेको छ ।
नेपाल टेलिकमले हाल ६८ जिल्लामा थ्रिजी सेवाको नेटवर्क पुर्‍याइसकेको जनाएको छ । कम्पनीले चालू आवभित्रै बाँकी ७ जिल्लामा समेत थ्रिजी सेवा पुर्‍याउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ‘कम्पनीले डेटा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भनिन्, ‘सबै जिल्लामा थ्रिजी, वाइम्याक्स र वाइफाई पुर्‍याउने काम अघि बढिरहेको छ ।’
त्यस्तै, मोबाइल सेवा कम्पनी एनसेलको थ्रिजी सेवा ६२ जिल्लामा पुगेको छ । बाँकी जिल्लामा पनि थ्रिजी जडानको काम भइरहेको एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले बताए । ‘डेटाको बढ्दो माग तथा यसको उपयोगिता र समाजमा पुर्‍याउने योगदानका कारण संसारभर कम्पनीहरू डेटाकेन्द्रित हुँदै आएका छन्,’ उनले भने, ‘एनसेल पनि डेटा सेवा विस्तारलाई जोड दिएको छ ।’
इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)हरूले पनि आफ्नो सेवालाई ग्रामीण क्षेत्रमा समेत पुर्‍याउन जोड दिइरहेका छन् । सहरकेन्द्रित इन्टरनेट सेवालाई सहरोन्मुख क्षेत्रमा विस्तार गरिरहेका छन् । हाल आइएसपीका इन्टरनेट प्रयोगकर्ता १ लाख ३१ हजार पुगिसकेका छन् । प्राधिकरणले वाइम्याक्सलगायत फ्रिक्वेन्सी उपलब्ध गराए मुलुकभर इन्टरनेट सेवा पुर्‍याउन सकिने उनीहरू बताउँछन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here