काठमाडौं ।
सर्वोच्च अदालतले थुनामा रहेका पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलाई लिएर तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
दीक्षितकी श्रीमती शान्ता दिक्षितले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै बन्दीसहित अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएको हो। प्रधानन्यायाधीश शुसिला कार्कीको एकल इजलाशले थुनामा राख्नुको कारणसहित उपस्थित हुन भनेको हो।
सर्वोच्चले अनुसन्धान गर्नका लागि थुनामै राख्नु पर्ने कारण लिखित रुपमा पेश गर्न सर्वोच्चको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। प्राकृतिक न्यायको सिद्धान्तविपरीत दीक्षितलाई थुनामा राखेर अख्तियारले अनुसन्धान गरिरहेकोले रिहाइ माग गर्दै श्रीमती दीक्षितले वन्दीप्रत्क्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्चको यो आदेशपछि दीक्षितलाई थुनामै राखी अनुसन्धान गर्ने वा धरौटीमा राखेर मुद्दा दायर गर्ने भन्ने विषयमा बहस हुनेछ। अख्तियारले दीक्षितलाई सोमबार अदालत पेश गर्नुपर्ने छ।
अकूत सम्पत्तिको आर्जन गरेको अभियोगमा संविधान र कानुनले थुनाबाहिर रहे पनि गर्न सक्ने अवस्था हुदाँहुँदै पक्राउ गरिएकाले रिहा हुनुपर्ने जिकीर गरिएको थियो।
अकूत सम्पत्ति आर्जनको अभियोगमा छानबिनका लागि शुक्रवार अख्तियारको टोलीले पक्राउ गरेको थियो। पत्रकार दीक्षितलाई त्यसको दुई दिनपछि आइतबार विशेष अदालत पेश गरिएको थियो। अदालते दीक्षितलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। विशेषको उक्त आदेश बदर हुनुपर्ने जिकीर गर्दै शान्ताले निवेदन दिएकी हुन्। विशेषको आदेश त्रुटीपूर्ण रहेकाले बदर भए थुनामुक्त गर्नु भनी आदेश जारी गर्न निवेदनमा माग गरिएको छ।
विशेषमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले पहिलो पटक १० दिन अनुसन्धान गर्न म्याद दिएको हो। न्यायाधीश मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले उनलाई थुनामा राख्न अनुमति दिएको थियो।
विशेषले दीक्षितको स्वाथ्यलाई ख्याल गर्नसमेत भनेको थियो। रक्तचापको समस्या भएका कारण आवश्यक औषधि उपचार व्यवस्था मिलाउनसमेत आदेश दिइएको थियो। निर्वाध रूपमा कानुन व्यवसायी भेट्न पाउने नागरिक अधिकारको सम्मान गर्दै उनलाई कानुन व्यवसायीसँग भेट्न दिनसमेत निर्देशन दिएको थियो। तर वीर अस्पतालमा राखिएका उनलाई सीमित व्यक्तिबाहेक अन्यसँग भेट्न रोक लगाइएको छ।