Saturday, January 22, 2022

बिराटनगर बंगाली समाजद्वारा भव्य काली पुजाको आयोजना

0

बिराटनगर ।

विराटनगर स्थित बंगाली समाजले पहिलो पटक भब्य काली पूजा समारोहको आयोजना गरेको छ । बिराटनगर महानगरपालिकाको वडा नम्बर ३ दूर्गा चोकमा आयोजित सो पूजामा ९ फिटको श्यामा काली भगवतीको भब्य मुर्ती निर्माण गरी पूजा गरिएको हो । बिराटनगर क्षेत्रमा बसोबास गर्ने बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिक रुपमा काली पूजा समारोहको आयोजना गरिएको पूजा समारोहका संयोजक असिम मित्रले बताउनु भयो ।

उक्त पूजाको लाभ हजारौ भक्तजनहरुले प्रत्यक्ष रुपमा लिएको र बिराटनगर क्षेत्र भित्र १० हजार भन्दा बढी जनसंख्यामा बंगालीहरुको बसोबार रहेको जानकारी नेपाल राष्ट्रीय बंगाली समाजका प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलले बताए । बंगाली समुदायको परम्परागत ढाकी, धुनी पुजा, खिचुडी भोग एवं मुर्ति कारीगर पनि स्थानिय बंगाली नै रहेको बिराटनगर महानगर कमिटिका अध्यक्ष संजय दत्तले बताए । कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक परम्परा रहेको माता कालीको पूजा कोलकाताका ब्राम्हणले बिहिबार रात्री साढे १० बजे पूजा शुरु गरी शुक्रबार बिहान साढे ३ बजे सम्पन्न गरेको समितिका कोषाध्यक्ष राज कुमार दासले बताए ।

उक्त पुजामा नेपाल राष्ट्रीय बंगाली समाजका केन्द्रिय अध्यक्ष पार्थो सरकार, उपाध्यक्ष विप्लव घोष, सचिव संजय वरुवा, सदस्य संजय चेल सहितको टोलीले माताको दर्शन गरी भव्य रुपमा पहिलो पटक यस्तो पुजाको आयोजना गरेकोमा सम्पूर्ण बंगाली समाजको तर्फ बाट हर्ष प्रकट गर्दै शुभकामना व्यक्त गरका थिए । पुजा समितिका सह संयोजक संजिव शुक्ला, सचिव मनोज साह, सदस्य रोशन दत्त सहित २७ सदस्यीय समिति गठन गरी आयोजना गरिएको उक्त श्री काली पुजाको प्रतिमा तिनपैनी, जलजला चौक बजार परिक्रमा गर्दै सहिद मैदान हुँदै पानीटंकी धनावत फैक्ट्रको सिंघिया खोलामा विसर्जन गरिएको थियो ।

४५९ रुपैयाँ लुट्ने ३८ वर्षपछि पक्राउ

0

चार दशकअघि चार सय ५९ रुपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन्। बेलौरीको मदिरा कम्पनी लारा डिस्ट्रिलरीबाट अन्तःशुल्कबापतको चार सय ५९ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न लगिएको रकम लुटने जंगे भनिने जगतबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। 

सरकारलाई तिर्नुपर्ने राजस्व रकम लुट्ने बेलौरी नगरपालिका– २ लक्ष्मीपुरका बुढाथोकीलाई प्रहरीले पक्राउ गरी आदालत पठाएर कारागार चलान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १० पुस ०४० सालमा लारा डिस्ट्रिलरी बेलौरीबाट अन्तःशुल्क रकम जम्मा गर्न पुनर्वास राष्ट्रिय वाणिज्य बैंकका जम्मा गर्न जाने क्रममा बीचबाटैमा बुढाथोकीको समूहले लुटेर भागेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले सरकारलाई बुझाउनुपर्ने आन्तरिक राजस्व रकम लुट्ने गिरोहका मुख्य नाइकेलाई ३८ वर्षपछि पक्राउ गरिएको बताए। प्रहरी प्रवक्ता न्यौपानेका अनुसार राजस्व रकम बोकेर बैंक जम्मा गर्न हिँडेका रामजन सहनीसहितलाई बुढाथोकी समूहले भौतिक आक्रमण गरेर रकम लुटेर फरार भएकाे थियाे । उक्त लुटपाट मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २५ वैशाख ०४२ सालमा तीन वर्ष एक महिना १८ दिन कैद फैसला गरेको थियो। 

लुटेरा बुढाथोकी समूहले उक्त मुद्दामा कैद भुक्तानी नगरेका कारण प्रहरीले अदालतको फरार सूचीमा रहेका बुढाथोकीलाई घरबाटै पक्राउ गरी कारागार चलान गरिएको हो। २२ वर्षको युवा उमेरमा बुढाथोकीले गरेको अपराध ६० वर्षको वृद्धावस्थामा सजाय भोग्नुपरेको छ। अपराध गरेपछि एक दिन अवश्य त्यसको सजाय भोग्नुपर्छ भन्ने यो गतिलो उदाहरण भएको छ। 

यस्तै, कञ्चनपुर प्रहरीले हतियार मुद्दामा फरार रहेका दुईजनालाई समेत पक्राउ गरी आदालत पेस गरेको छ। कञ्चनपुर जिल्ला आदालतले हतियार मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका– ९ बस्ने बर्खे चौधरी, कृष्णपुर नगरपालिका– ३ बस्ने ७९ वर्षीय गोपाल सुनारलाई समेत पक्राउ गरी आदालत पेस गरेको हो। चौधरीलाई २४ पुस ०७६ मा तीन वर्ष कैद र ३० हजार जरिवाना, सुनारलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकेप नि उनीहरू दुवैले कैद भुक्तान र जरिवाना नतिरेका कारण पक्राउ गरी कारागार चलान गरिएको छ। कञ्चनपुर प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न मुद्दामा फारर रहेका अभियुक्तहरूलाई पक्राउ गर्दै अदालत पेस गरिरहेको छ। 

११ जना फरार प्रतिवादी पक्राउ

0

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७०।०९।१४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र मिति २०७३।०३।१२ को फैसलाले कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका ११ जना फरार प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा बुझाईएको छ।

पक्राउ पर्नेहरुमा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ विवियाविर्ता बस्ने बर्ष ३५ को सत्यलाल उराव (सवारी ज्यान), जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं.-६ बस्ने बर्ष ५३ को रमेश भुजेल (कुटपिट लुटपाट), सोही स्थानमा बसोबास गर्ने बर्ष २३ को सुरज भुजेल (कुटपिट लुटपाट), बर्ष ५८ को उसमान मिया (कुटपिट), बर्ष २८ को रमजान मिया (कुटपिट), बर्ष ४८ को अन्जु खातुन(कुटपिट), बर्ष ४८ को उवारन खातुन (कुटपिट), बर्ष ३० को अव्वास मिया (कुटपिट), बर्ष २७ को फुच्चे मिया (कुटपिट), बर्ष ३१ को कैलु मिया (कुटपिट), बर्ष ३५ को साहजवि खातुन (कुटपिट) रहेका छन।

प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित

0

प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् ।

विराटनगरमा बिहीबार साँझ सार्वजनिक भएको मत परिमाण अनुसार बुढाथोकीले ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शिव अधिकारीले २४ मात्र प्राप्त गरेका छन् । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधी उपस्थित भएका थिएन् । निर्वाचनमा जम्मा ५५ मत खसेको थियो ।

समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिब हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । यसैगरि सदस्यहरूमा यादव प्रधान, चिरन्जिवी तिमल्सिना, देवीलाल महतो, सिमा अग्रवाल, दिनेश ढुंङगना रहेका छन् ।

अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने ।

0

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत भुक्तानी प्रणाली सम्बन्धि निर्देशिका जारी गर्दै मोबाइल बैंकिङबाट हुने प्रतिदिन भुक्तानीको सीमा बढाएको हो । 

अब मोबाइल बैकिङ (क्युआर कोड समेत) बाट प्रतिदिन २ लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । यसअघि मोबाइल बैंकिङबाट दिनको १ लाख रूपैयाँ कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । 

त्यस्तै बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार, प्रतिदिन १ लाख र प्रतिमहिना १० लाख रूपैयाँसम्म कारोबार गर्न सकिने छ । वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार ५० हजार, प्रतिदिन १ लाख र प्रतिमहिना १० लाख सम्म कारोबार गर्न सकिने छ ।

त्यसैगरी एक वालेटबाट अर्को वालेटमा प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने छ ।   

त्यस्तै वालेटमा ५० हजार रूपैयाँ सम्म मात्र मौज्दात ओभरनाइट ब्यालेन्स राख्न पाइने छ । वालेटबाट वालेट बाहकको बैंक खातामा रकमान्तर गर्न कुनै सीमा नलाग्ने पनि राष्ट्र बैंकले बताएको छ । 

राष्ट्र बैंकले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत् गरिने राजस्व भुक्तानीमा सम्बन्धित सेवा प्रदायकले तीन हजार रुपैयाँसम्म प्रति कारोबार अधिकतम सेवा शुल्क पाँच रुपैयाँ तोकेको छ ।

३ हजारदेखि १० हजारसम्म कारोबार गर्दा प्रति कारोबार अधिकतम १० रूपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्दा प्रति कारोबार अधिकतम २० रूपैयाँ सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  

बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल बैंकिङ मार्फत् विद्युतीय रकमान्तर इन्टर बैक फन्ड ट्रान्सफर (आइबीटीएफ) गर्दा ५० हजार रुपैयाँसम्ममा प्रति कारोबार अधिकतम सेवा शुल्क १० रुपैयाँ लिन सक्ने छन् ।

त्यस्तै ५० हजारदेखि १ लाख सम्म कारोबार गर्दा प्रतिकारोबार २० रूपैयाँ र १ लाखभन्दा माथि कारोबार गर्दा प्रति कारोबार ३० रूपैयाँ सम्म अधिकतम सेवा शुल्क लिन सकिने व्यवस्था गरिएको छ । 

‘बीग बोस’ विजेता सिद्धार्थको ४० बर्षको उमेरमा निधन

0

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन ।

सिद्धार्थ ‘बीग बोस-१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए । यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए ।

सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्युटिफुल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्टसमेत गरेका थिए ।

विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज कमिटी गठन

0

मोरङको विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित कुमार चेलको अध्यक्षतामा सबेको बैठकलेमा प्रमुख अतिथि बंगाली समाजका अगुवा समाजसेवी सपन दास, नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोष, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सचिव सञ्जय बरुवा आदिले बंगाली समाजका बारेमा प्रष्ट पारेका थिए । उक्त भेलामा केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास, लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले सर्वसम्मत रुपमा बिराटनगर महानगर कमिटिमा अध्यक्षमा सञ्जय दत्त, उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दास चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जीव सरकार, दीपेन्द्र कुमार बंगाली, अजय दास, बचूँ कुमार दास र गौतम चेल चयन भएका छन् ।

नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिका स्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटीले देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताको अभियानमा लागि परेका छन् ।

सगरमाथामा भारतीय न्युज च्यानलको दावी

0

नेपालबारे पटक–पटक भ्रामक सामग्री सम्प्रेषण गरेर विवादित बनेको भारतीय च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम फैलाउने कोसिस गरेको छ। जी न्यूजले सगरमाथा भारतको पनि भएको दाबी गर्दै विवादास्पद अभियानको घोषणा गरेको छ। प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ। प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्- जी न्यूजका सम्पादक सुधीर चौधरी।

मंगलबार प्रशारित एक कार्यक्रममा च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर यस्तो अभियानको थालनी गरेको बताएका हुन्। उनले सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभएर ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका हुन्। उनले भारतीय राधानाथ सिकदरले सगरमाथाको उचाई पहिलो पटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका हुन्। प्रधान सम्पादक चौधरीले नाम मात्र फेर्ने नभएर सगरमाथा माथि भारतले दाबी गर्नुपर्ने बताएका छन्। ‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, प्रशारित कार्यक्रममा उनले भनेका छन् ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’
प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ। यसअघि पनि जी न्यूजले नेपालप्रति अवाञ्छित र भ्रामक समाचारहरू सम्प्रेषण गर्दै आएको थियो। उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए ।

उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।उनले दर्शकहरूलाई जी-न्यूजको यो अभियानमा सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान समेत गरे। जी न्यूज नेपालमा मात्र नभएर भारतमा पनि आलोचित बन्दै आएको छ। भारतमा यो ‘गोदी मिडिया’ का रूपमा आलोचित छ। यसैगरी च्यानलले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच अशिष्ट सामग्री बनाएर प्रशारण गरेको थियो।

राष्ट्रकवी माधव प्रसाद घिमिरेको १०१ वर्ष उमेरमा निधन

0
२ भाद्र २०७६, काठमाण्डौं ।
इन्द्रै बिन्ति गरून् झुकेर पदमा यो बिन्ति मान्दैन त्यो ।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।
 

यो कविताको अंशले भनेजस्तै मंगलवार साँझ ५ बजेर ५५ मिनेटमा सारा नेपालीका लागि दुखद् खबर आयो । मंगलवारको अस्ताउँदो सूर्यसँगै नेपालले एक काव्यको मुर्धन्य धरोहर पनि गुमायो । जुन खबरले सारा नेपालीलाई नै रुवायो । जसरी दिउँसो गगनबाट वर्षा भयो, त्यसरी नै साँझपख अचानक सारा नेपालीहरुको आँखाबाट अश्रुका धारा प्रवाहित भए । खबर थियो नेपाली साहित्यका एक स्तम्भ, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन । साँझ ५ बजेर ५५ मिनेटमा उनको मृत्यु भएसँगै सारा नेपालीको आँखाबाट अश्रुधारा प्रवाहित हुन थाले । नहोस् पनि किन, नेपाली साहित्यलाई नवयुगमा प्रवेश गराउने एक सशक्त राष्ट्रकवि घिमिरेको निधन भएको थियो । यो समाचारले बिस्तारै बिस्तारै सामाजिक सञ्जाल ततायो । तर सारा नेपालीको बीचबाट मंगलवारको अस्ताएको सूर्यसँगै राष्ट्रकवि माधव प्रसाद घिमिरे पनि सदाका लागि यो संसारबाट अस्ताए ।

गाउँछ गीत नेपाली, ज्योतीको पंखा उचाली ।।
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।।
 

जस्ता लोकप्रिय कविताबाट चिनिने राष्ट्रकवि वि ।सं । १९७६ सालमा पिता गौरीशंकर र माता द्रौपदिदेवी घिमिरेको पुत्ररत्नका रूपमा लमजुङको पुस्तुनमा जन्मेका घिमिरे १०१ वर्षको उमेरमा सारा नेपालीहरुको माझबाट सदाका लागि बिदा भए ।

राष्ट्रकवि घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका सर्वाधिक ख्यातिप्राप्त र विशिष्ट कवि हुन् । अन्तर्राष्ट्रिय स्तरका कवि व्यक्तित्वका रूपमा उनको मूल्यांकन गर्ने गरिन्थ्यो । त्यसो त कविता काव्यका अतिरिक्ति गद्यलेखनमा पनि उनको उच्चस्तरको योगदानलाई पनि कम मूल्यांकन गर्न मिल्दैन । उनी ‘कवि’ का पर्याय जस्ता पनि बनेका छन् । सुन्दर र हृदयसंवेद्य कविताकाव्य लेखनमा उनी तुल्य व्यक्तित्व ‘न भूतो न भविष्यति’ जस्तो भइसकेको छ ।

म्युजिक भिडियोमा जलाइयो नेपालको राष्ट्रिय झण्डा

0

२ भाद्र​ २०७६, हेटौडा ।

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको भिडियोमा नेपालका बाहुन-क्षेत्रीलाई गाली गर्दै राष्ट्रिय झण्डा समेत देखाइएको छ।

देशद्रोहीं एल्बम नाममा नेपालमा बाहुन-क्षेत्री शरणार्थी भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ।

म्युजिक भिडियोमा लाइक भन्दा डिस्लाइक हजारौँ गुणा बढी आएको छ। सोमबार सार्वजनिक गरिएको भिडियोलाई हालसम्म  भिडियोमा कमेन्ट गर्ने अधिकांशले यस्तो भिडियोले जातीय विद्वेष ल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन।

भिडियोमा मकवानपुरको पूर्वी बागमती गाउँपालिका-३ सल्लेनीस्थित विष्णु आधारभूत विद्यालयको क्षेत्र देखिएको छ। यसैगरी बागमती गाउँपालिकाकै पर्ने मदन भण्डारी लोकमार्गको पुलहरूको दृश्य देख्‍न सकिन्छ।

केहीले देशको गौरव राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारबाहीको माग गर्दै कमेन्ट गरेका छन। सामाजिक सञ्‍जाल फेसबुकमा पनि भिडियोबारे प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ताहरूले देशद्रोही भिडियो बनाउने र खेल्नेलाई नियन्त्रणमा लिएर कानुन अनुसारको कारबाही अगाडी बढाउन माग गरेका छन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले केही उजुरी फोन र सामाजिक सञ्जालबाट आएको बताएका छन।

उनले लिखित उजुरी नआए पनि प्रहरीकै प्रतिवेदनले भिडियो खिच्‍ने, बनाउने र अभिनय गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउन मिल्ने बताए ।

प्रहरीले मकवानपुरका सबै युनिटहरूमा जानकारी गराएका खोजी तीव्र पारेको छ। मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।